“सुखी नेपाली, समृद्ध नेपाल” बनाउने संकल्पलाई साकार पार्नका लागि तर्जूमा गरिने नीति, योजना र कार्यक्रमहरू प्रदेशको वास्तविक धरातलमा उभिएको हुनुपर्छ भन्ने कुरामा दुईमत छैन। विकासका दृष्टिले यो प्रदेश अहिले कहाँ छ, यसका चुनौती, अवसर र तुलनात्मक लाभका क्षेत्र के के छन भनेर पहिचान गर्नको लागि यो वस्तुस्थिति विवरण तयार गरिएको हो। यो दस्तावेजले प्रदेश सरकारको विकाससँग सम्बन्धित आवधिक योजना, क्षेत्रगत नीति तथा योजना बनाउन मात्र होइन थप खोज, अध्ययन र अनुसन्धान गर्न संघीय तथा प्रदेश सरकार र स्थानीय तह, राजनीतिक दल, विभिन्न निकाय, विकास साझेदार लगायतका सरोकारवाला एवं अध्ययन अनुसन्धानकर्ता लगायतका लागि सहयोग गर्न सक्दछ। प्रदेश नीति तथा योजना आयोग बनेको छोटो समयमा नै सीमित साधन र स्रोतको वावजुद यो दस्तावेज तयार गरिएको हो। यसमा प्रयोग भएका सूचना र जानकारीहरू मूलतः वि.स. २०६८ को जनगणनाको प्रतिवेदन, केन्द्रीय तथ्याङ्क विभागका पछिल्ला सर्वेक्षण प्रतिवेदनहरू, संघीय तथा प्रदेश मन्त्रालयले तयार पारेका विभिन्न दस्तावेजहरु, तथ्याङ्क कार्यालय तथा तत्कालीन जिल्ला विकास समितिले तयार पारेका जिल्लाको वस्तुगत विवरण, जिल्ला तथा अन्य निकाय एवम् प्राज्ञिक र व्यवसायिक अनुसन्धान प्रतिवेदन, विकासका साझेदार र निजी तथा गैरसरकारी निकायबाट उपलब्ध भएका अध्ययन प्रतिवेदनहरु लिइएका छन्। यस प्रतिवेदनमा भूगोल, जनसङ्ख्या, वन, जलस्रोत, पूर्वाधार, जीवनस्तर, जातीय विविधता, पेशा, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग र व्यापार लगायतका विषयमा हालसम्मको अवस्थालाई संक्षेपमा प्रस्तुत गरिएको छ। यस प्रतिवेदनमा मूलतः समग्र नेपाल र यस प्रदेशका तथ्याङ्कहरू समावेश गरिएको भएतापनि केही महत्वपूर्ण तथ्याङ्कहरू भने अरू छ वटै प्रदेशकासमेत समावेश गरिएको छ। यसका साथै तथ्याङ्क विश्लेषणबाट प्राप्त निश्कर्ष, देखिएका अवसर र चुनौतिहरूसमेत समावेश गरिएका छन।

दस्तावेज